ओमानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको लज्जास्पद हार
११ असोज २०७८ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँगको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार व्यहोरेको छ ।
कतारको दोहास्थित कतार युनिभर्सिटी मैदानमा ओमानले नेपालमाथि ७–२ गोलको शादार जित निकालेको हो ।
ओमानको जितमा अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल तथा फामी सेद, मोसेन जाहेर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक(एक गोल गरे ।
नेपालका लागि ४४ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । साफ च्याम्पियनसीपको तयारीका लागि कतारमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । अब साफका लागि नेपाली टोली कतारबाटै माल्दिभ्स जानेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसीप यही असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले हिजो साफका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा खेल्नेछ ।
त्यस्तै दोस्रो खेलमा श्रीलंकासँग असोज १८, तेस्रो खेलमा भारतसँग असोज २४ र लीग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ गते खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लीग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया