एमाले केन्द्रीय कमिटीमा आज पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदा पारित गर्ने तयारी
९ असोज २०७८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
हिजोबाट ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा शुरु भएको बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ । जसमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदा आज पारित गर्ने तयारी गरिएको छ ।
आज बिहान विभिन्न १० वटा समूहले छलफल गरेर आएको सुझावको आधारमा प्रतिवेदन पारित गर्ने तयारी गरिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ्ले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानैदेखि समूहले छलफल गरेर दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकमा सुझाव दिनेछन् ।
तिनै सुझाव समेटेर तयार गरिने प्रतिवेदन पारित गर्ने तयारी छ । यसअघि हिजो शुुरु केन्द्रीय कमिटी बैठकले छलफलका लागि १० वटा समूह निर्माण गरेको छ।
अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेका संगठनात्मक र विधान संशोधन सम्बन्धी प्रतिवेदनसहित सुझाव बैठकमा प्रस्तुत गरिएको छ ।
एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सम्मेलन हलमा हुँदैछ।
प्रतिक्रिया