पार्टीको १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय (भिडियो रिपोर्टसहित)
८ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशनको तोकिएकै समयमा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको बैठकले केन्द्रीय महाधिवेशन यसअघि तोकिएको मंसिर ९ देखि १३ गतेसम्ममा नै गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकले भोलि ९ गतेका लागि तोकिएको स्थानीय तहस्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
हिमालीसहित कतिपय जिल्लामा पालिकास्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा जिल्ला कार्य समितिको अनुकुलता अनुसार केन्द्रीय निर्वाचन समितिसँग सल्लाह गरेर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ ।
बैठकले महाधिवेशनका लागि संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारप्रसारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया