विश्वभर समानताका आधारमा खोप वितरणमा प्रधानमन्त्री देउवाको जोड

८ असोज २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वभर कोरोनाविरुद्धको खोपको न्यायपूर्ण वितरण हुनुपर्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड–१९ सम्मेलनलाई गएराती सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समानताका आधारमा खोप वितरण हुनुपर्नेमा जोड दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारी नियन्त्रणमा विश्वका सबै राष्ट्रहरु एकजुट हुनुपर्नेमा पनि जोड दिनुभएको छ ।
राष्ट्रसंघीय महासभाको अवसर पारेर बाइडेनले विश्व नेताहरु संलग्न गराएर आयोजना गरेको सम्मेलनमा भाग लिँदै प्रधानमन्त्री देउवाले सन् २०२२ अप्रिलसम्म लक्षित समूहलाई कोभिडविरुद्धको खोप लगाइसक्ने जानकारी पनि दिनुभयो ।
नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि प्रधानमन्त्री देउवाले अमेरिकालाई धन्यवाद दिनुभयो । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्व नेताहरुले प्रत्यक्ष सम्बोधन गरेका थिए ।
प्रतिक्रिया