राजनीति

राजनीतिक दलहरु अलमलमा, तर सपना देखाउन पछि हट्दैनन् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते १९:५७
राजनीतिक दलहरु अलमलमा, तर सपना देखाउन पछि हट्दैनन् (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । देशको विकास र जनताका समस्याको निकास खोज्ने राजनीतिक दलहरु आफ्नै पार्टीको काम सम्पन्न गर्न नसक्दा अलमलमा देखिएका छन् । मिति तोक्ने र समयमा काम सम्पन्न गर्न नसक्ने राजनितिक पार्टीको प्रवृतिनै बन्ने गरेको छ । तर देशको मुहार फेर्ने भन्दै ठुलाठुला सपना देखाउन भने पछि हट्दैनन ।

मुलुकको सकसको समाधान खोज्ने र मुहार फेर्ने भन्दै गठन भएका राजनीतिक दल र तीनका नेताले आफैं भित्रको सकसको निकास भने निकाल्न सकेका छैनन् । मुलुकका मुख्य राजनीतिक दलहरु अहिले आन्तरिक विवादमा नराम्ररी फसेका छन् ।

सबैभन्दा ठूलो दल नेकपा एमाले फुटको घाउ निको हुन नपाउँदै आन्तरिक द्धन्द मिलाउन नसकेर लाहाको घरजस्तो बनेको छ। नेकपाबाट माओवादी केन्द्र र माधव कुमार नेपालहरु बाहिरिएपछि पिलो निचारेजस्तो भएको भन्ने पार्टी अध्यक्ष ओलीको अभिव्यक्ति मनको सन्तोषमात्र बन्ने देखिएको छ।

विधान अधिवेशनका लागि अध्यक्ष ओलीले तयार गरेको राजनीतिक प्रतिवेदनले पार्टी फुटमा नसघाएका माधव नेपाल पक्षका नेतालाई छेडखानी गरेपछि ओलीलाई आगामी दिन सजिलो नहुने देखिएको छ।

असन्तुष्ट पक्षले संसद विघटन गलत थियो भन्ने बिषयलाई ओलीको दस्तावेजमा समावेश गर्ने, नभए छुट्टै प्रतिवेदन पेश गर्ने भएपछि ओलीको नौनसा गल्ने निश्चित छ। समाजवादी गठनलाई कपालका रौँ झरेको संज्ञा दिने ओलीलाई अब १० भाइलाई रोक्न नै सहमति र आत्मसमर्पणको दुवाली थुन्नुपर्ने देखिन्छ ।

संधै भागवण्डाको विवाद र झगडाको घर काँग्रेसमा पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई किस्तीमा आइपुगेको सत्ता माछी(काँडो बनेको छ। आफ्नै पार्टीभित्रका स्थायी विरोधी रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍मा मागेको भाग दिन नसकेका देउवा गठबन्धन दलको सकसले पनि चेपुवामा पर्नु भएको छ।

वडा अधिवेशनदेखि नै धाँधलीको आरोप खेपिरहनुभएका सभापति देउवाले एकजना मन्त्री छान्दा समेत सल्लाह नगरेको भनेर पौडेल पक्षले निहुँ खोजेपछि देउवालाई देश चलाउने बिषय फुर्सदमा गुन्द्रुकमा आइरन लगाउने मेलो जस्तै भएको छ।

जसरी पनि आगामी १४ औ महाधिवेशनबाट पार्टी सभापति दोहोर्‍याउन उद्यत देउवालाई सरकार विस्तार गर्न नसकेको आरोप पनि छ। ७२ दिनमा ५ मन्त्री लिएर देश चलाएका देउवालाई देश चलेकै देख्दा पशुपतिनाथले देश चलाएजस्तो लाग्दो हो, त्यो भन्दा बढी पार्टी भित्रको विवादले कपाल दुख्दो हो ।

उता एमालेमा १५ बर्ष महासचिव भएर पार्टी अध्यक्ष ओलीसँग भान्छा छुटाएका माधव कुमार नेपालको पिडा पनि कम छैन। मन्त्री हुनका लागि साथ दिएकादेखि आफन्तको नियुक्तिका लागि सनाखत गरेकासम्मको व्यवस्थापन गर्न नेपाललाई पनि कम हम्मे छैन ।

एमालेकै हात्तीछाप विधान बनाएर पार्टी गठन गर्नुभएका नेपालले प्रमुख सत्रु एमालेलाई नै किटान गर्नुभएको छ, गठबन्धनलाई चुनावसम्म लैजाने भन्नुभएको पनि छ तर गठबन्धनले मन्त्रीको नाम समेत दिन सकेको छैन। नेपालका लागि ल्याइएको एमाले फुटाउने अध्यादेशले जसपाका उपेन्द्र यादवहरुको भने निद्रा गायब भएको छ।अध्यादेश रहँदै मन्त्रिपरिषद्‍मा समावेश भए पार्टी फुट्ने भयले यादवलाई मन्त्रीको मनितो पनि फिक्का भएको छ।

समग्रमा पार्टीलाई विश्वासमा लिएर चलाउन नसक्ने असक्षम नेतृत्वले जनताको विश्वास जित्ने अपेक्षा गर्नु नै कमजोरी हो । सत्ता र शक्तिकालागि विचारको तिलान्जली दिनेले आफ्नाको विश्वास त जित्न सक्तैन नै , आफ्नै मनलाई सान्त्वनासमेत दिन नसक्ने निश्चित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्