राजनीति

‘असक्षमता’ को बाटोमा प्रधानमन्त्री देउवा, यसरी बढ्दै सर्वत्र आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ५ गते २०:४३
‘असक्षमता’ को बाटोमा प्रधानमन्त्री देउवा, यसरी बढ्दै सर्वत्र आलोचना (भिडियो रिपोर्टसहित)

५ असोज २०७८ काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको साढे २ महिना हुन लागिसक्यो । लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन नसकेपछि प्रधानमन्त्री देउवाको आलोचना चुलिएको छ ।

संविधानलाई जोगाउने र विधि पद्धति अनुसार काम गर्ने दाबी गर्दै प्रतिकूल अवस्थामा बनेको गठबन्धनको औचित्यमाथि समेत गम्भीर प्रश्न उठ्न थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना नाघिसक्यो । दुई महिनामा चार मन्त्री र एक राज्यमन्त्रीका भरमा देश चलाइरहेका देउवाले पुगेर मन्त्रिपरिषद् सधैंका लागि यति छरितो बनाएको भने होइन ।

गठबन्धनका दलका आपसी दुःखले देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु भएको हो । अध्यादेशमार्फत् एमाले फुटाएपछि पाँच दल जुटाएर पाँचौ चोटी प्रधानमन्त्री भएका देउवाले गठबन्धनलाई त चित्त बुझाउन सक्नुभएको छैन नै, उहाँकै दलका नेताहरु खुशी छैनन् ।

सरकार त देउवाले विस्तार गर्न सक्नु भएन नै । अचम्मको कुरा त कार्यकर्तालाई भर्ती गर्ने सचिवालय पनि उहाँको खाली नै छ । पारीवारिक सदस्य भानु देउवालाई नियुक्त गर्ने बाहेक देउवाको सचिवालय रित्तै छ।

हुन त हरेक ठाउँमा गठबन्धनमा भ्यागुताको धार्नी बनाउन सिद्रा बटुलेका दललाई भाग दिनपर्ने सकस छ प्रधानमन्त्री देउवालाई । मन्त्री नभएर देश चलेन र जनताले दुःख पाए भन्ने पनि छैन। मन्त्रिपरिषदको आकारले जनताले सुख पाउने भए विगतमा पाँच दर्जन मन्त्री बनाएका देउवाको पालामा देश स्वर्ग बनिहाल्थ्यो । तथापि गठबन्धनका दललाई पनि सकस छ, मन्त्रीको नाम पठाउना साथ आफ्नै २० प्रतिशतवाला अध्यादेशले दल फुट्ला भन्ने खतरा छ । तर गठबन्धनका नेता भने संयुक्त सरकार फरक पृष्ठभूमिको हुने भएकाले पूर्णता पाउन समय लाग्ने तर्क गर्छन् ।

विगतमा एमालेलाई ताकेको तीर आफ्नै दलमा लाग्ने खतराले उपेन्द्र यादवको निद्रा हराएको छ। हुन पनि नीतिका कारण भन्दा मन्त्री र आफन्त नियुक्तिका कारण टुक्रिएका दलको हैसियत त्योभन्दा माथि हुने कुरै भएन। यादव पहिला अध्यादेश खारेज गरेर मात्र सरकारमा जाने अड्डी कसेर बसेकाले समेत देउवालाई मन्त्रिपरिषद् विस्तारमा अपगाल परिरहेको हो ।

तर जसपा अध्यक्ष उपेन्द्र यादव आफूलाई पार्टी फेरि फुट्ने डर नभएको दावी गर्नुहुन्छ ।

जे कारणले मन्त्रिपरिषद् विस्तार नभएको भए पनि यी र यस्ता घटनाले देउवा सरकार असफलताको बाटोमा यात्रा गरिरहेको छ। विगतमा ४ पटक प्रधानमन्त्री हुँदा लागेको असक्षम र असफलको दाग मेटाउने अवसर समेत कम हुँदै गएको छ।

देउवाले गठबन्धनका दलको असक्षमताको अपगाल समेत बोक्नुपर्दा देशले दुख त पाएकै छ, उहाँको पार्टी कांग्रेस पनि जनतामा अलोकप्रिय हुने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्