राजनीति

विश्वकै राम्राे भनिएकाे संविधानमाथि किन पटकपटक प्रश्न उठ्ने गर्छ ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३ गते २०:३०
विश्वकै राम्राे भनिएकाे संविधानमाथि किन पटकपटक प्रश्न उठ्ने गर्छ ?(भिडियो रिपोर्टसहित)

३ असोज २०७८ काठमाडौं । संविधान जारी भएको ६ वर्ष बितिसक्दा पनि यसको स्वीकार्यतालाई लिएर विवाद हुने गरेको छ । विश्वकै राम्रो भनिएको संविधानमाथि किन पटकपटक प्रश्न उठ्ने गर्छ ?

संविधानसभाबाट संविधान निर्माण गर्ने दशकौं लामो अपेक्षालाई पूर्णता दिने क्रममा आफ्ना मतहरु समावेश भए–नभएको कुरामा नागरिकको चासो रहनु स्वभाविकै हो ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी हुँदै गर्दा यसको समर्थनमा दीपावली र विरोधमा संविधान जलाउने दुईटै काम यसैकारण भएका थिए । तत्कालीन सरकारमा रहेका र सत्ताबाहिर रहेका दलहरुमा समर्थन र विरोधको शैली जस्तो थियो । अद्यापि विरोधको शैली फेरिएको छैन ।

संविधानका सबल र दुर्बल पक्षलाई सत्ता स्वार्थसँग जोडेर क्रियाप्रतिक्रियामा उत्रिने जमातको अनुहार फेरिँदै गए पनि प्रवृत्ति उस्तै छ । संविधान जारी गर्न नदिने, जारी गरेपछि जलाउने र त्यसैको उपज मौनतामा बसेको भारतको फेरो समातेर नाकाबन्दी गर्न सीमापारी पुगेको घटना सेलाउन नपाउँदै तत्कालीन सत्तामा पुगेपछि मधेश केन्द्रित दलहरुले संविधानका विषयमा आफ्नो असहमतिको स्वरलाई मौनतातिर मोडेका थिए । यीनै राजनीतिक दल पछिल्ला ६ वर्षमा सत्तामा हुँदा समर्थन र सत्ताबाहिर हुँदा विरोधमा आफूलाई उभ्याउने गरिरहेका छन् ।

संविधानमा राज्यका हरेक निकायमा महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु र मुस्लिम समुदायको समानुपातिक समावेशी सहभागिताको सुनिश्चिता गरिएको छ । सिंहदरबारमा केन्द्रित शक्तिलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत हकहरु स्थापित गर्ने कुरा स्पष्टसँग लेखिएको छ । तर यीनै कुराहरु कार्यान्वयनमा ल्याउन संघीय सरकार उदासिन देखिन्छ ।

ऐन कानूनहरु निर्माणमा भएको ढिलासुस्ती एकातिर छ नै अर्कोतिर कतिपय कानूनहरु संविधानमै बाझिने गरी निर्माण गर्ने प्रयत्नमा दलहरु केन्द्रित हुँदा विरोधको शिकार बन्नु परेको छ ।

संविधान निर्माणका क्रममा सबैभन्दा बढी अपेक्षा गरिएको राजनीतिक स्थायित्वको विषय पनि संविधान कार्यान्वयन गर्ने शक्तिले उदांगो पार्दा सबै व्यवस्था उस्तै त हुन् भन्ने खालको निराशा नागरिकमा देखिएको छ ।

पछिल्लो पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई पटक संसद विघटन गरेको घटना र ओलीसहित देउवा सरकारले निहित स्वार्थका लागि ल्याएका राजनीतिक दलसहितका विभिन्न अध्यादेशपछिको अस्थिरतालाई पनि जनताले संविधानको कमजोरीसँग जोडेर हेरेका छन् । तर राम्रोसँग कार्यान्वयन हुन सके नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको दाबी गरिन्छ ।

मुख्यगरी सरकारको नेतृत्व गर्ने राजनीतिक दलमा इच्छाशक्तिको अभाव, शक्ति सञ्चयको अभूतपूर्व रुचि र अभ्यास जस्ता कुराले संविधानको विरोध गर्नेहरुको स्वर चर्को हुँदै गएको छ । संविधानका दुर्बल पक्षहरुलाई संशोधन गर्ने र सबल पक्षलाई सहीरुपमा कार्यान्वयनमा लैजाने काम गरेको भए संविधान नै सफल कि असफल वा स्वीकार्य कि अस्वीकार्य भन्ने विषयमा बहस गरिरहनु नै पर्दैनथ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्