Main News

कक्षा १२ को परीक्षा : परीक्षार्थीमा थोरै डर र धेरै उत्साह ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते २०:५२
कक्षा १२ को परीक्षा : परीक्षार्थीमा थोरै डर र धेरै उत्साह ! (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमै शुरु भएको छ । यसअघि साउन ३१ गते हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको थियो । कोरोना कहर जारी नै रहेको अवस्थामा लामो समयपछि आफ्नै विद्यालयमा उपस्थित भएर परीक्षा दिएका परीक्षार्थीमा थोरै डर र धेरै उत्साह देखिएको छ ।

मुलुकभरका ४ हजार १५ वटा परीक्षा केन्द्रमा करिब ३ लाख ७४ हजार परीक्षार्थी सहभागी भएका छन् । लामो समयपछि भौतिक रुपमा उपस्थित भएर आफ्नै स्कुलमा रहेको केन्द्रबाट परीक्षा दिन पाउँदा विद्यार्थी उत्साहित त छन् तर सूचना निकालेको छोटो समयमै परीक्षा दिनुपर्दा तयारी गर्न नपाएको गुनासोसमेत देखियो ।

परीक्षा केन्द्रमा स्वस्थ्यका मापदण्डको पूर्ण पालना गरिएको हुनाले कोरोनाको खासै डर भने नलागेको परीक्षार्थी बताउँछन्।

सबै परीक्षा केन्द्रमा संक्रमित परीक्षार्थीका लागि छुट्टै हलको व्यवस्था गरिएको छ । परीक्षा हल प्रवेश गर्नुअघि परीक्षार्थीको तापक्रम मापन गरि संक्रमणका लक्षणहरु भए नभएको निर्क्योल गर्न स्वास्थ्यकर्मीसमेत खटाइएको छ ।

संक्रमणको जोखिम कायमै रहेकाले प्रत्येक बेञ्चमा एक जना मात्रै परीक्षार्थी राख्नुपर्ने लगायत स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरेर परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको थियो । स्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिए पनि पूर्वाधार अभावमा केही समस्या भने भोग्नुपरेको विद्यालयहरु बताउँछन् ।

शैक्षिक सत्र खेर जान नदिन भन्दै परीक्षा सञ्चालन गरेको बोर्डले आगामी मङ्सिर अन्तिम वा पुस पहिलो सातासम्ममा नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।

विद्यार्थी मूल्यांकन गर्ने वैकल्पिक विधि नेपालमा लागू नभएका कारण जोखिम मोलेरै भए पनि परीक्षामा सहभागी हुनु विद्यार्थीको बाध्यता हो । कोरोनाकै कारण नेपालमा अनलाईन शिक्षण पद्धतिको विकास भएको अवस्थामा संक्रमणलाई अवसरका रुपमा लिँदै विद्यार्थी मूल्यांकनका लागि समेत अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर वैज्ञानिक उपाय अवलम्बन गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *