Main News

आगामी अक्टोबरदेखि बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी

हिमालय टिभी
२०७८ भदौ ३० गते ८:०८
आगामी अक्टोबरदेखि बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी

३० भदौ २०७८ काठमाडौं । बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाइने भएको छ ।

पछिल्ला क्लिनिकल ट्रायलहरूले ५ देखि ११ वर्ष उमेर समूहमा पनि भ्याक्सिन लगाउन सकिने पुष्टि गरेपछि आगामी अक्टोबरदेखि भ्याक्सिन लगाउने तयारी भएको हो ।

कोभिडविरुद्धको भ्याक्सिन अहिले १२ वर्षभन्दा माथि उमेर समूहमा लगाइँदै आएको छ । कोभिड संक्रमण दर घट्न थालेसँगै विश्वभर नै विद्यालय खुल्न थालेका छन् ।

विद्यालय खुले पनि अभिभावकमा त्रास भने कायमै छ । ११ वर्षमुनिका बालबालिकामा पनि भ्याक्सिन लगाउन शुरु गरेपछि बालबालिकामा संक्रमणको जोखिम कम हुने विज्ञहरूले बताएका छन् ।

अमेरिकामा दुईवटा वैज्ञानिकको समूहले गरेको अध्ययनले बालबालिकामा खोप प्रभावकारी हुने देखाएको हो । उनीहरूले खोप प्रयोगमा ल्याउन सकिने सुझाबसमेत दिएका छन् । ५ वर्षभन्दा माथिका बालबालिकामा दिइने भ्याक्सिनको डोजबारे भने मोर्डना र फाइजरले अनुसन्धान गरिरहेको जनाएको छ ।

हालसम्म विश्वभरको तथ्यांक हेर्दा वयस्कको तुलनामा बालबालिकामा संक्रमण र मृत्युदर न्यून छ । तर, पछिल्लो समय बालबालिकामा उच्च संक्रामक देखिएको डेल्टा भेरियन्टको परिवर्तित स्वरूपले ल्याउन सक्ने महामारी नियन्त्रणका लागि भ्याक्सिन आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

१२ वर्षभन्दा माथि उमेर समूहमा मोडर्ना र फाइजरको भ्याक्सिन प्रयोगमा आइसके पनि अन्य उत्पादन कम्पनीहरू ट्रायलमै छन् । १२ वर्षभन्दा माथि उमेर समूहमा भ्याक्सिनको प्रभावकारिताबारे पनि यकिन विवरण आइसकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *