संसद बैठक सुचारु गराउने जिम्मेवारी एमालेको हो : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)
२७ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्नीप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन । संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गर्नु भयो ।
सञ्चारकर्मीहरुले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद चलाउन हुन्छ ?’ भनि प्रश्न गरेका थिए । उहाँले त्यसको जवाफ दिँदै संक्षेपमा भन्नु भयो, ‘ओलीजीलाई सोध्नू’ ।
एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्काशन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।
आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौं २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया