Main News

संखुवासभाको मादीमा सामूहिक हत्यामा संलग्न एक जना पक्राउ

हिमालय टिभी
२०७८ भदौ २६ गते १२:५२
संखुवासभाको मादीमा सामूहिक हत्यामा संलग्न एक जना पक्राउ

२६ भदौ २०७८ संखुवासभा । हत्या भएको पाँच दिनपछि प्रहरीले संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् ।

२६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । प्रदेश–१ प्रहरी कार्यालयका अनुसार लोकबहादुर एक्लैले आवेगमा तेजबहादुरसहित ६ जनाको ज्यान लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर त्यो बिहान खेतला खोज्न लोकबहादुरको घरमा गएको बेला पछाडिबाट टाउकोमा हानेर हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्यले पनि थाहा पाएपछि अरुलाई पनि मार्न बाध्य भएको उनको बयान छ ।

घरका अरु पनि कराउन थालेपछि आत्तिएका उनले घरतिर गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । तेजबहादुरको हेप्ने प्रवृत्ति लोकबहादुरलाई मन नपरेकाले आवेशमा आएर हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।

यस विषयमा भोलि पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ । भदौ २१ गते बिहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना, पनाति ८ वर्षका विपिन र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *