एमालेको अवरोध र नाराबाजीबीच संसदमा विभिन्न अध्यादेश पेश (भिडियो रिपोर्टसहित)

२५ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारले बजेटसम्बन्धी विभिन्न अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ ।
आज दिउँसो एमालेको अवरोधका कारण पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएर शुरु भएको दोस्रो बैठक सभामुख अग्निप्रसाद सापकोटाले पेलेरै सञ्चालन गर्नुभएको हो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई एमालेको नाराबाजीबीच बहुमतबाट स्वीकृत गरिएको छ ।
यी अध्यादेश अस्वीकारका लागि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेश गरेका सूचना अस्वीकृत गरिएको थियो ।
बैठकमा सांसद सुवालले प्रमुख प्रतिपक्षी दलको नाराबाजी रहेका कारण स्पष्टसँग बोल्ने वातावरण बनाउन आग्रह गर्नुभएको थियो । उहाँले आफूलाई रोष्ट्रममै उभिएर बोल्न दिन पटकपटक गरेको आग्रह सभामुखले बेवास्ता गरेर बढ्नु भएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले कारबाही गरिएका माधव नेपालसहित एकीकृत समाजवादीमा लागेका १४ जना सदनमा उपस्थित भएसम्म बैठक चल्न नदिने अडान लिँदै आएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले अधिवेशनको पहिलो दिन बसेका तीनवटै बैठकमा पनि नाराबाजी गरेको थियो ।
प्रतिक्रिया