आज पनि न्यून चापीय रेखाको प्रभाव कायमै, देशका अधिकांश स्थानमा पानी पर्ने
२४ भदौ २०७८ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश स्थानमा मौसम बदली रहने बताएको छ ।
महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको बताएको हो ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राती देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले देशको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु पनि अनुरोध गरेको छ।
प्रतिक्रिया