एमालेमा ओली, आउला त ओली प्रवृत्तिमा सुधार ? (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ काठमाडौं । पार्टीभित्रका विश्वास पात्रको सुझावसमेत बेवास्ता गरेर अघि बढ्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकालमा आफ्नै कार्यशैलीलाई ‘ओली प्रवृत्ति’ को संज्ञा दिलाउन सफल हुनु भयो । यही प्रवृत्तिले ओलीको सत्ता गुमेको छ भने पार्टी विभाजन भएको छ । के ओलीको यो प्रवृत्तिमा सुधार हुन सक्ला त ?
नेताको बोली र ब्यबहारमै देशको तरक्कीको दिशा तय हुन्छ । जुन देशका नेता कम बोल्छन्,बढी काम गर्दछन्,ती देशले छोटो समयमा ठूलो फड्को मारेका छन् । नेपालमा त केही अपवाद् छाडेर अधिकाँश नेता गफ गर्न जन्मेका जस्ता लाग्छन् ।
उनीहरुले गफमा ग्रेट वाल र सगरमाथाको मित लाइदिन्छन्, सी जिनपिङ र नरेन्द्र मोदीको वार्ता पनि गराइदिन्छन्, नेपाललाई चुड्कीका भरमा सिंगापुर बनाइदिन्छन् । तर व्यबहारमा उनीहरुको कुरा दुई दिन पनि टिक्दैन । नेपाली राजनीतिमा पछिल्लोपटक एकाएक शक्तिशाली बनेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बोली त मीठो लाग्छ तर बोलीमा एकपछि अर्को अडान चिप्लँदै गएको छ।
भाषणलाई सुनिरहुँ जस्तो बनाउन उखान टुक्कासँगै तथ्य र तथ्यांक समेत जोडेर बोल्ने ओलीका कतिपय बोलीले उहाँलाई नै विवादित बनाएका छन् । कोराना नियन्त्रणका सम्बन्धमा विज्ञलाई उछिनेर उहाँले प्रस्तुत गरेको रेसिपी आलोचित मात्र भएन, प्रधानमन्त्रीको बोलीमा आवश्यक विश्वश्नीयता समेत गुमायो ।
पार्टीभित्रको किचलोका कारण प्रधानमन्त्री पद गुमाएका ओलीले पार्टी विभाजनलाई मद्दत पुग्ने गरी आक्रामक अभिव्यक्ति दिनुभयो । पार्टी एकलौटीरुपमा चलाएको र गैह्र संबैधानिकरुपमा संसद विघठन गरेको आरोप लागेका ओलीले संमय अपनाएको भए पार्टी विभाजन रोकिने स्वयं एमाले नेताहरुको भनाइ छ । पार्टीका आफ्नै विश्वासपात्रको समेत सुझाव ओलीले मान्नुहुन्न ।
दश बुँदे सहमतिको जगमा पार्टी एकता जोगाउन लागि परेका आफ्नै पार्टीका नेतालाई ओलीले फेरि सकसमा पारि दिनुभएको छ। लामो समय तात्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग रहेका तर पार्टी विभाजनमा सहमति नजनाएका नेताहरुलाई ओलीको फेरिएको बोलीले पुन सकस पारेको छ ।
१० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टीलाई २०७५ सालको जेठ २ को संरचनामा लैजान तयार भएर पार्टीमा थप पहिरो जान रोकेका ओलीले पार्टी जेठ २ मा पनि नजाने र १० बुँदे पनि अक्षरस कार्यान्वयन गर्न नसकिने अभिव्यक्ति दिनुभएको छ ।
केही दिन अघि मात्र एमाले महासचिव ईश्वर पोखरेलले पनि काभ्रेमा आयोजित कार्यक्रममा १० बुँदे कार्यान्वयन हुन नसक्ने बताउनुभएको थियो । १० बुँदेको आवरणमा एमालेमा बस्न तयार भएका तात्कालिन वार्ता कार्यदलका सदस्यहरुलाई भने ओलीको बोली गलापासो हुने छाँट देखिएको छ । माधव नेपालको दल समाजवादीमा जाउँ, हिजो माधव नेपाललाई धोका दिइयो । एमालेमा बसौं विगतकै नियति बर्होनुपर्ने दुबिधाको स्थिति सृजना भएको छ।
सत्ताबाट ओर्लेर बालकोट पुगेपछि गद्धार घोषणा गर्नुभएका ओलीले वरिष्ठ नेता नेपाललगायतलाई आममाफीको घोषणा गरेपछि वातावरण थप बिग्रेको थियो । माधव नेपाल लगायतलाई अध्यक्ष दिन गोप्यरुपमा तयार हुने तर बाहिर गाली गर्ने ओली शैलीले समाजवादी पार्टी त बनिसकेको छ नै एमालेमा वैचारिक विमति हुँदाहुँदै पनि सुधारका लागि पहल गर्ने भनेका तेस्रो धारका नेताको भविष्य के हुने भन्ने पनि अनिश्चित भएको छ।
राजनीतिमा इमान्दारिता अत्यावश्यक मानिन्छ । तर ‘माछो पर्दा कुरभित्र हात, भ्यागुतो आउँदा कुर बाहिर हात’को शैलीले ओलीको विश्वास र ओज बढेको छैन । एमाले अध्यक्ष ओलीलाई सहमति गर्ने तर कार्यान्वयन नगर्ने झेली नेताको ट्याग लागेका बेला ओलीले अब पार्टीभित्रका विमति मिलाउन १० बुँदेलाई इमान्दारपूर्वक पहल गर्नुहोला या पार्टीमा थप पहिरोको मूकदर्शक बन्नुहोला, हेर्न बाँकी छ ।
प्रतिक्रिया