संसद बैठक सहज ढंगले चल्ने वातावरणका लागि भूमिका खेल्न प्रधानमन्त्री देउवाको आग्रह
२३ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकलाई सहज ढंगले सुचारु गराउन भूमिका खेलीदिन सत्तारुढ दलहरुलाई आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बोलाई अत्यावश्यक विधेयकहरु, अध्यादेशहरु पारित गरेर जानुपर्ने भएकाले संसद बैठक सहज ढंगले संचालन हुने वातावरण बनाई दिन सत्तारुढ दलका नेताहरुलाई आग्रह गर्नु भएको हो ।
अत्यावश्यक विधेयक र अध्यादेशहरु पारित गरेर जानुपर्ने भएकाले संसद बैठकलाई सहज ढंगले अघि बढाउने वातावरण बनाई दिन प्रधानमन्त्रीले आग्रह गर्नु भएको माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सदन संचालनसम्बन्धि विषय हो । सदनलाई सुचारु रुपले संचालन गर्नुपर्छ । अध्यादेशहरु छ, अर्जेन्ट अध्यादेशहरु छ । अत्यावश्यक विधेयकहरु छन । त्यसकारणले अब सत्तापक्ष, विपक्ष सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता हो । अन्तरवस्तुमा विमति हुन सक्छ । तर विधिमा, प्रक्रियामा, सिष्टममा सहमति गरेर जाऔं भनेरै सबैसँग आग्रह गरेर सदन संचालनलाई सहज बनाउनलाई भूमिकामा खेल्नु प¥यो भनेर प्रधानमन्त्रीज्यूले त्यहीँ आग्रह गर्नु भएको छ ।’
सत्तारुढ गठबन्धन दलका नेताहरुले भने सदन चलाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका उपस्थिति रहेको थियो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले संसद बैठकमा सरकारले तत्काल पारित गर्नुपर्ने अध्यादेश, विधेयकहरुबारे जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया