आज पनि देशका ४ प्रदेशमा मौसम बदली रहने

२३ भदौ २०७८ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान आगामी तीन दिनसम्मको बुलेटिन सार्वजनिक गर्दै आज देशका चारओटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताएको हो ।
आज बिहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौँमा आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताइएको छ ।
यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा हुने क्रम अब विस्तारै कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
यद्यपि, सेप्टेम्बरको अन्तिम र अक्टोबरको पहिलो हप्ता नभइ मनसुन नसकिने भएकाले जुनसुकै बेला भारी वर्षा हुने उहाँको भनाइ छ ।भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया