Main News

तुइन प्रकरण र हेलिकोप्टर उडाएकोबारे सरकारले भारतलाई पठायो कूटनीतिक नोट

हिमालय टिभी
२०७८ भदौ २२ गते ८:०६
तुइन प्रकरण र हेलिकोप्टर उडाएकोबारे सरकारले भारतलाई पठायो कूटनीतिक नोट

२२ भदौ २०७८ काठमाडौं । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत सरकारलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै पत्र कूटनीतिक च्यानलमार्फत् पठाइएको हो । ती घटनाहरूमा सरकारले मौनता साँधेको भन्दै सर्वत्र आलोचना भएपछि घटना भएको एक महिनाभन्दा लामो समयपछि सरकार कूटनीतिक नोट पठाउन बाध्य भएको हो ।

साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाइ दिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता हुनुभएको छ । उहाँ बेपत्ता भएको घटनाको छानबिनका लागि सरकारी समिति बनेको थियो ।

उक्त समितिले पनि एसएसबीको संलग्नता रहेको उल्लेख गर्दै यो विषयलाई कूटनीतिक तबरबाट अघि बढाउन सरकारलाई सुझाव दिएको थियो । छानबिन समितिले समेत ठहर गरिसक्दा पनि सरकार चुपचाप बसिरहेको थियो ।

यही बीचमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यो घटनाको बारेमा थाहा नभएको प्रतिक्रिया दिएका थिए । एक महिनासम्म पनि भारतमा यो विषयमा जानकारी नपुगेको भन्दै सरकारको थप आलोचना भएको थियो ।

यो बीचमा भारतसँग आफ्नो कुरा गर्नु भन्दा चीनसँगको सीमा विवाद रहेको भन्दै समिति बनाएपछि सरकारमाथि थप विरोध चुलिएको थियो ।

तुइन घटनाको विषयमा सरकार मौन रहेकै बेला भारतले नेपाली सेनाको ब्यारेकमाथि नै अनधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो । त्यो विषयमा पनि सरकार चुपचाप थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *