ओलीको एमालेमा शीरदेखि तीरसम्म चीरा, खुलेन अझै चेत (भिडियो रिपोर्टसहित)
१८ भदौ २०७८ काठमाडौं । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाए पनि अध्यक्ष केपी शर्मा ओली त्यसलाई न फुट मान्न तयार हुनुहुन्छ न पार्टीमा त्यसको असर नै देख्नुहुन्छ । तर झण्डै दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री भएका ओली नेपालकै कारण सत्ताबाट हट्नु परेको मात्र होइन शक्ति पनि क्षयीकरण भइरहेको छ ।
दुई तिहाइ हाराहारीको सरकार छाडेर सडकमा पुग्दा र पार्टी विभाजित हुँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति र शैली फेरिएको छैन । पार्टीलाई १५ बर्ष हाँकेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा पार्टीको महासचिव र अध्यक्ष भइसकेका झलनाथ खनालसहितले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी बनाउँदासमेत पूर्व प्रधानमन्त्री ओली फुटलाई चोइटिएको संज्ञा दिनुहुन्छ ।
संघदेखि प्रदेशका सरकारबाट एकपछि अर्को आफ्ना विश्वासपात्रको वहिर्गमन हुँदा पनि पार्टी विभाजनलाई ओली नुहाउँदा झरेको कपालको एक दुई रौ भनेर व्यङ्ग्य कसेर बस्नुभएको छ। उता आफ्ना विगतका सहयोगी १० स्थायी समिति सदस्यले धोका दिँदा समेत नेपालको दल समाजवादीमा पूर्व एमालेका ५८ केन्द्रीय सदस्य र ३१ संघीय साँसदले सनाखत गराइसकेका छन् ।
प्रदेश सांसदले साथ छाडे
ओलीले फुटलाई चोइटिएको भनेर आत्मरती लिन चाहे पनि पार्टीमा शिरदेखि तीरसम्म चिरा परेको छ। चोइटिएको भनिएको पार्टीमा प्रदेश दुईमा ओलीको दल एमालेमा भन्दा बढी सांसद गएका छन् ।
सभामुखसहित २५ सांसद रहेको सुदूरपश्चिम प्रदेशमा पनि १३ जना सांसद एकीकृत समाजवादीमा खुलेका छन् । सातै प्रदेशमा गरी एमालेका २ सय २९ मध्ये ५२ जना सांसद एकीकृत समाजवादीमा खुलेका हुन् । दल रोज्ने समय भदौ २२ गतेसम्म रहेकाले यो समिकरण अझै परिवर्तन हुन सक्ने देखिन्छ ।
प्रधानमन्त्रीबाट बहिर्गमन
ओलीले गद्धार घोषणा गरेका समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै कारण ओलीको हुँदा खाँदाको प्रधानमन्त्री पद गयो । झण्डै दुई तिहाइको सरकार नेपाल–प्रचण्डकै कारण ढलेपछि नेपाललाई कारवाही गरेका ओलीले सत्ता जोगाउन हरेक हतकण्डा अपनाउँदा पनि न सत्ता जोगियो न पार्टी ।
दुईपटक संसद विघटन गरेका ओलीको कदमलाई अदालतले बदरमात्र गरेन आफ्नै पार्टीका सांसदले उहाँको विरुद्धमा मतदान समेत गरे । नेपालकै अग्रसरतामा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउँदा र संसदको सबभन्दा ठूलो दल प्रतिपक्षमा पुग्दा पनि ओलीको बोली भने फेरिएको छैन ।
प्रदेश प्रमुखहरू गए
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका प्रदेश प्रमुखलाई सरकारमा जाने बित्तिकै फेरबदल गरेका ओलीलाई दल विभाजन र सत्ता बहिर्गमनपछि प्रदेश प्रमुख परिवर्तनको निर्णय पनि भारी पर्यो । आफ्ना कार्यकर्ता र एसम्यान नियुक्त गर्ने प्रचलनमा फसेको प्रदेश प्रमुख पदमा ओलीका मान्छे विदा मात्र भएनन्, उहाँका विश्वासपात्र मुख्यमन्त्रीहरुले पनि पद गुमाए ।
सत्तामा बस्न अध्यक्ष ओलीकै शैली अपनाउनुभएका लुम्बिनी सरकारका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकीका पृथ्वी सुब्बा गुरुङ निर्वतमान भइसक्नुभएको छ । भर्खरै अध्यक्ष ओलीका पक्षमा लागेर अल्पकालिन मुख्यमन्त्री बन्नुभएका बागमतीका अष्टलक्ष्मी शाक्य र प्रदेश १ का भीम आचार्यको पद पनि कोमामा गइसकेको छ। माधव कुमार नेपालको पार्टीको हैसियत र उपस्थिति नै नस्वीकार्ने एमाले अध्यक्ष ओलीले यी सबै परिणतीलाई आँखा चिम्लेको की बाध्य भएर आँखा चिम्लेको अभिनय गरेको हो यकिन हुन सकेको छैन।
संवैधानिक नियुक्ति खारेज
ओलीलाई नेपालको दल त्याग र नयाँ दल गठनपछि एकलौटीरुपमा विगतमा गरेका संवैधानिक नियुक्तीमा पनि राम्रै चोट पर्ने देखिएको छ। संबिधानको प्रावधानलाई मध्यरातमा परिवर्तन गरेर भागबण्डामा नियुक्त गरिएको आरोप लागेका संवैधानिक अंगका पदाधिकारीको मुद्धा अदालतमा छ भने राजदुतहरु फिर्ता गर्न वर्तमान सरकारले सिफारिस गरिसकेको छ। कतिपय स्थानमा ओलीका मान्छे फिर्ता गरेर माधवकुमार नेपाल पक्षका मान्छे पठाइएको छ।
विभाजनकै कारण स्थानीय तहमा पनि कति रेक्टरको भुँइचालो जाने हो अन्तिम दृष्य आइसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई केही होइन भन्दै गर्दा पनि नेकपा एकीकृत समाजवादीले ओलीका पाइला पाइलामा विभाजनको असर मात्र देखाइरहेको छैन, आगामी चुनावपछि ढोकाबाटै सत्तामा प्रवेश गर्ने हुँकारलाई समेत फिक्का बनाउने संकेत गरेको छ।
प्रतिक्रिया