Main News

तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

हिमालय टिभी
२०७८ भदौ १६ गते १४:२५
तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

१६ भदौ २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध रातिमा पनि कारबाही सुरु गरेको छ ।

रातको समयमा तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो ।

महाशाखाका अनुसार कोटेश्वर–सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा उक्त अभियान थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समयमा त्यस्तै चौडा सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ । त्यसैले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यसअघि दिउँसो जाँचसहित तीव्र गतिमा सवारी चलाउने ३५÷४० जना चालकलाई लेजर गनमार्फत कारबाही हुँदै आएको थियो । उक्त अभियानलाई दिउँसोमा थप प्रभावकारी बनाउँदै अब भने रातको समयमा पनि सञ्चालन गरिएको हो ।

उहाँले आज रातिदेखि नै नाइट भिजन लेजर स्पिड गनको प्रयोग सुरु गरेको र यसले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

उक्त अभियानकै समयमा स्पिड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो, ग्वार्को क्षेत्रमा ओभर स्पिडमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको महाशाखाले जानकारी दिएको छ । महाशाखाले लापरबाहीका साथ सवारी नचलाउन सवारी चालकलाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *