बागमतीमा १२ जना एमाले सांसदले रोजे एकीकृत समाजवादी, मुख्यमन्त्री शाक्य अल्पमतमा (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।
एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले भदौ २२ गते बेलुकी ५ बजेसम्मको समय दिएको थियो ।
त्यो समय अघि नै बागमति प्रदेशका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । १ सय ९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए ।
एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो ।
१२ जना सांसदले नेकपा एमाले त्यागेपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ ।
सत्तारुढ गठबन्धनबिच बागमतिको मुख्यमन्त्री एकीकृत समाजवादीले र प्रदेश १ को मुख्यमन्त्री कांग्रेसले लिने गरी छलफल भइरहेको छ ।
प्रतिक्रिया