काठमाडौंको फोहोर भोलिदेखि उठाउने तयारी, अवरोध भए बल प्रयोग गर्ने चेतावनी
१५ भदौ २०७८ काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलिदेखि उठाइने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले भोलि बिहान ६ बजेदेखि फोहोर उठाउने निर्णय गरेको हो ।
लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेको काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले बताउनुभयो ।
मेयर शाक्यले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै त्यसैले सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
फोहोर फाल्न सिसडोलका बासिन्दाले अवरोध गरे बल प्रयोग गर्ने बारेमा पनि बैठकमा छलफल छ ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाड्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा पनि फोहोरका डंगुर छन् ।
प्रतिक्रिया