काबुलमा हुनै लागेको आत्मघाती आक्रमण रोक्न सफल भएको अमेरिकी दाबी

१४ भदौ २०७८ काबुल । अफगानिस्तानको राजधानी काबुलमा हुनै लागेको अर्को आत्मघाती आक्रमण रोक्न सफल भएको अमेरिकी सैनिक अधिकारीले दाबी गरेका छन् ।
इस्लामिक स्टेट समूहको अफगानिस्तान शाखाको एउटा सवारीलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ। अर्को गम्भीर र घातक आतंकवादी आक्रमण रोक्न ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका हुन् ।
आईएस–के का लडाकु चढेको सवारीलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको र ती व्यक्ति सम्भावित आक्रमणकारी रहेको अमेरिकी दाबी छ ।
उता अमेरिकी ड्रोन आक्रमणमा एकै परिवारका ९ सदस्य मारिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मृत्यु हुनेमा ६ जना बालबालिका समेत रहेको बताइएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ताले ड्रोन आक्रमणबाट सर्वसाधारणको पनि ज्यान गएको हुन सक्ने बताएका छन् ।
आफूहरुको आक्रमण भन्दा पनि निशाना बनाइएको उक्त गाडीमा रहेको विष्फोटक पदार्थका कारण भएको विष्फोटकले क्षति भएको हुन सक्ने उनको भनाइ छ ।
यसअघि अमेरिकाले फेरि पनि काबुलमा विमानस्थल नजिक गम्भीर आतंकवादी आक्रमणको जोखिम रहेको भन्दै चेतावनी जारी गरेको थियो ।
गएको बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै आत्मघाती विष्फोट हुँदा १३ जना अमेरिकी सैनिकसहित १ सय ७० जनाको मृत्यु भएको थियो ।
उक्त आक्रमणको जिम्मा आईएसके ले लिएको थियो । अमेरिकाले अगष्ट ३१ तारिखसम्ममा आफूसहित सबै विदेशी सैनिक फिर्ता हुने यसअघि सहमति अनुसार नै काम भइरहेको बताउँदै आएको छ ।
प्रतिक्रिया