Main News

फोहर नउठेपछि घरघरबाट वाग्मतीमा फालिँदै डङ्गुर

हिमालय टिभी
२०७८ भदौ १२ गते १६:०१
फोहर नउठेपछि घरघरबाट वाग्मतीमा फालिँदै डङ्गुर

१२ भदौ २०७८ काठमाडौं । डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४३३औँ हप्तामा काठमाडौँ महानगरपालिका– ११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिनुभयो ।

करिब १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा भएको फोहर नदी किनारमै थुपार्नुपरेको अभियानकर्मीले जनाएका छन् । डेढ महिनाअघिदेखि नै राजधानीको फोहर नउठ्दा सफाइ गरेर फोहर नदी किनारमै थुपार्न बाध्य हुनुपरेको हो । आजको सफाइमा पनि खोलबाट फोहर टिपेर किनारमा राखिएको हो । पानीले फेरि फोहर नदीमै लैजाने चिन्ता रहेको अभियानकर्मी खरेलले बताउनुभयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, ११ नं वडा अध्यक्ष हीरालाल तण्डुकार, ९ नं वडा सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मीको सफाइमा सहभागिता थियो । थापाथली क्षेत्रको सफाइका क्रममा प्रसूति गृह पछाडिको सुकुम्बासी बस्तीको पनि अनुगमन गरिएको छ । सुकुम्बासी बस्तीका कारण पनि यस क्षेत्रको नदी फोहर बन्नेक्रम बढेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियान चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत प्रतिकूल अवस्थामा जारी छ । वाग्मतीसँगै गुह्येश्वरीमाथिको वाग्मती खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *