Main News

संवैधानिक इजलासमा नबस्न प्रधानन्यायाधीशलाई रिट निवेदकको आग्रह

हिमालय टिभी
२०७८ भदौ ११ गते १५:०८
संवैधानिक इजलासमा नबस्न प्रधानन्यायाधीशलाई रिट निवेदकको आग्रह

११ भदौ २०७८ काठमाडौं । संवैधानिक परिषदले गरेका नियुक्तिबदर गर्न माग गर्दै परेका रिटमाथिको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा नबस्न प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि दबाब परेको छ । तर प्रधानन्यायाधीश जबराले त्यसलाई अस्वीकार गर्नुभएको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा गठित इजलासमा सुनुवाइ शुरू भएलगत्तै रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीशको मनसायपूर्वक उपस्थिति रहेको र अध्यादेश आउन पनि प्रधानन्यायाधीश जिम्मेवार भएको जिकिर गर्नुभयो ।

संवैधानिक परिषदका नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागबण्डा लिएकाले इजलास छाड्नुपर्ने र बिदा बस्नु पर्ने अर्यालको सुझाव थियो । तर प्रधानन्यायाधीश जबराले त्यसलाई अस्वीकार गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

इजलासमा अर्यालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आउनमा श्रीमान्‌को पनि भूमिका देखियो । अध्यादेश आएपछि भएको नियुक्तिमा नातागोता पनि परे भनेपछि प्रधानन्यायाधीश जबराले आपत्ति जनाउनुभयो ।

प्रधानन्यायाधीश जबराले संवैधानिक परिषद्ले गरेका नियुक्ति अधिकार प्राप्त ठाउँबाट भएकाले व्यक्तिलाई आरोप लगाउन नमिल्ने बताउनुभयो । गैरकानूनी हो भने आधार देखाउन चुनौती दिँदै जबराले अधिकार प्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा गर्न नमिल्ने बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा निरन्तर अनुपस्थित भएपछि अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गरी अख्तियारलगायत विभिन्न निकायमा नियुक्ति गरिएको थियो ।

त्यसकाविरुद्ध सभामुखसहितले अदालतमा रिट दायर गरेका छन् । यही मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको हो । संवैधानिक इजलास प्रधानन्यायाधीशको अध्यक्षतामा हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *