Political Hightlights

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसको पौडेल समूह आन्तरिक छलफलमा

हिमालय टिभी
२०७८ भदौ ९ गते १३:५९
सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसको पौडेल समूह आन्तरिक छलफलमा

९ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार तय गर्न छलफललाई तिब्रता दिएको छ ।

वरिष्ठ नेता पौडेल समूहका नेताहरु आज बिहान आन्तरिक छलफल गरेका हुन् । क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा आज बिहान छलफल भएको हो ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलको चाक्सीवारीस्थित निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा( मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत सहभागी हुनुभएको थियो ।

पौडेल समूहमा सभापतिका आकांक्षीको संख्या धेरै भएपछि सहमति जुटाउन नेताहरु निरन्तर छलफलम छन् । दुई दिनअघि पनि उनीहरुबीच सर्वसम्मत नेतृत्व चयनका लागि संवाद भएको थियो ।

पौडेल समूहले क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्नुपर्ने माग पनि गरेको छ । पौडेल निकट जिल्ला सभापतिहरुले पनि सोही माग राख्दै पार्टी कार्यालय सानेपामा धर्ना र अनशन शुरु गरेका छन् ।

क्रियाशील सदस्यता सूचीमा आफ्नो नाम परेको छ कि छैन भनेर देशभरका कांग्रेस नेता कार्यकर्ताले थाहा पाउनुपर्ने भन्दै नेता अर्जुननरसिंह केसीले जिल्ला सभापतिहरुको मागप्रति आफुहरुको ऐक्यबद्वता रहेको बताउनुभयो ।

बैठकले जिल्ला सभापतिको उम्मेदवारका लागि निर्वाचन निर्देशिकामा उल्लेखित दोहोरो मापदण्ड हटाउनुपर्ने माग गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । तर अझै क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *