१४ जना सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले सांसद सभामुखको कार्यकक्षमा
९ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा पुगेका छन् ।
पार्टी हितविपरीत काम गरेपछि कारबाही सिफारिस गरिएका १४ जनालाई किन कारबाही नगरेको भनेर सोध्न आफुहरु सभामुखको कार्यकक्षमा गएको एमाले नेता रामवीर मानन्धरले बताउनुभयो ।
सभामुख अग्नि सापकोटालाई खबर गरेपनि कार्यकक्षमा नआएको नेता मानन्धरले जानकारी दिनुभयो । संसदीय व्यवस्थामा सभामुख सबैको साझा व्यक्तित्व हुनुपर्नेमा पार्टी कार्यकर्ताको व्यावहार देखाएको भन्दै एमालेले सभामुखको आलोचना समेत गर्दै आएको छ ।
हिजो मात्रै दाँतको माइनर सर्जरी गरेका सभामुख सापकोटा निवासमा आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ । सभामुखको कार्यकक्षमा मानन्धरसहित खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराईलगायतका सांसदहरुले धर्ना दिएका हुन् ।
माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्र एमालेले संसद सचिवालयमा बुझाएको छ । तर अहिलेसम्म पनि सभामुखले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले नेताहरुले दबाब दिंदै आएका छन् ।
यसअघि पनि एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेर दबाब दिएका थिए ।
प्रतिक्रिया