Main News

काठमाडौं उपत्यकामा यसरी मनाइयो गाईजात्रा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ७ गते २०:२१
काठमाडौं उपत्यकामा यसरी मनाइयो गाईजात्रा (भिडियो रिपोर्टसहित)

७ भदौ २०७८ काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन काठमाडौं उपत्यकामा मनाइने ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

केही ठाउँमा अष्टमीसम्म आठ दिन मनाउने परम्परा भए पनि गाईजात्राको मुख्य दिन आज एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा निकालिएको छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने परम्परा अनुसार कोरोना कहरका बिचमा पनि गाईजात्रा मनाइयो ।

यो काठमाडौंको बसन्तपुरको दृश्य । अनि यो भक्तपुर दरबार क्षेत्रको ।

उपत्यकाका तीन वटै शहर भक्तपुर, काठमाडौं र ललितपुरमा आज यस्तो दृश्य देखियो । र यो दृश्य परम्परागत रुपमा मनाउँदै आएको गाइजात्राको दृश्य हो ।

गाईजात्रा निकालिएका ठाउँमा जात्रामा सहभागी हुने मात्र हैन । जात्रा हेर्न आउनेहरुको समेत भीड थियो ।

पछिल्लो एक वर्षमा निधन भएकाका घर परिवारले आफन्तको सम्झनामा गाईजात्रा निकालेका हुन् । दर्के झरीमा छाता ओढेरै पनि जात्रा देखाउने र हेर्ने क्रम चलिरह्यो ।

भिड देखिए पनि अघिल्लो वर्षहरुमा जस्तो रौनक भने थिएन । किनभने हरेक वर्ष जस्तो बाजागाजा बजाउने, विभिन्न नृत्य देखाउने काम यो वर्ष हुन पाएन । जस्ले गर्दा हेर्नेहरुलाई यो वर्षको जात्रा खल्लो लाग्यो ।

विक्रम संवत् १७२० को दशकमा काठमाडौंका राजा प्रताप मल्लकी रानी आफ्ना नाबालक छोराको निधनले चिन्तित थिइन् । रानी चिन्तित भएको देखेपछि राजा प्रताप मल्लले वर्षभरि राज्यमा मृत्यु भएका नागरिकहरूका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्ने गरी जात्रा निकाल्न आह्वान गरेका थिए ।

आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र परेको होइन रहेछ भन्ने बुझेको र त्यही समयदेखि गाइजात्रा मनाउन सुरु गरिएको किंवदन्ती छ ।

गाईजात्रा काठमाडौं उपत्यकाका गाईजात्रा मात्रै हैन । विगतका वर्षमा पर्यटकहरुलाई आफ्नो संस्कृति चिनाउने, व्यापार गर्ने र आम्दानी गर्ने दिन पनि थियो । तर कोरोना कहर सुरु भएसँगै गतवर्ष र यो वर्षको गाईजात्रा आफ्नो संस्कृति चिनाउने र पर्यटनलाई भित्राउने अवसरको रुपमा बन्न सकेन । तर पनि कोरोना कहरलाई वेवास्ता गर्दै कोरोना संक्रमणबाट जोगिन अपनाउनु पर्ने सावधानीको पालना बिना नै गाइजात्रा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *