लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध
७ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज चौथो पटक पनि अवरुद्ध गरेको छ ।
सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई दबाब दिँदै एमालेले प्रदेशसभा बैठक पटक पटक अवरुद्ध गरेको हो ।
आज बोलाइएको बैठकमा सभामुखले प्रदेशको नाम सुधारसम्बन्धी विधेयक पेश गर्न मुख्यमन्त्रीको तर्फबाट ग्रामीण तथा शहरी विकासमन्त्री डिल्ली चौधरीलाई अनुमति दिएलगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
उनीहरुले प्रदेशसभा सचिवालयमा दलीय प्रभाव देखिएको भन्दै नाराबाजी गरेका छन् । त्यसपछि सभामुखल बैठक स्थगित गर्दै फेरि शुरु गरे पनि उनीहरुले विरोध जारी राखेका छन् ।
एमालेले आफ्ना दुई सांसदलाई पार्टीको विधान, आचारसंहिता तथा अनुशासनविपरीत काम गरेको भन्दै कारबाही गरिएको र पदमुक्त गर्न अनुरोध गरिएको पत्र प्रदेशसभालाई पठाएको थियो ।
प्रदेशसभा सचिवालयले सांसदहरुलाई कारबाहीको आधार नदेखिएको भन्ने व्यहोरोका पत्र पठाएपछि एमालेले संसद बैठक अवरुद्ध पार्दै आएको छ । एमालेले विरोध जारी राखे पनि लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
प्रतिक्रिया