Political Hightlights

नेपाल पक्षमा नगएका नेताहरु अध्यक्ष ओलीसँगको निर्णायक वार्तामा

हिमालय टिभी
२०७८ भदौ ७ गते १३:१५
नेपाल पक्षमा नगएका नेताहरु अध्यक्ष ओलीसँगको निर्णायक वार्तामा

७ भदौ २०७८ काठमाडौं । पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको पक्षमा नखुली बसेका एमालेका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक वार्तामा जुटेका छन् ।

माधवकुमार नेपाल पक्षमा रहे पनि उहाँको नयाँ पार्टीमा नगएका नेताहरु अध्यक्ष केपी ओलीबीच बालकोट, भक्तपुरमा छलफल भइरहेको हो । नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायत नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका हुन् ।

उनीहरुले एमाले एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले पनि विद्रोह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए। बालकोटमा ओलीसँग भेट्नुअघि उनीहरुले ओली समूहका नेता शंकर पोखरेलसँग कुराकानी गरेका थिए।

हिजो दुवै पक्षका नेताहरुको छलफलमा १० बुँदे सहमति कार्यन्वयनको जिम्मा नेता शंकर पोखरेललाई दिइएको थियो । पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरुको वार्ता भएको हो ।

एमालेलाई २०७५ साल जेठ २ मा फर्काउनु पर्ने यी नेताहरुको मुख्य माग छ। तर अध्यक्ष ओलीले अब एमाले ७५ जेठ २ मा नफर्कने घोषणा गरिसक्नु भएको छ ।

अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयनमा सकारात्मक नदेखिए तटस्थको भूमिका रहेका भनिएका नेताहरु माधवकुमार नेपाल पक्षमा खुल्ने तयारी गरेका छन् ।

अलमलमा परेका तेस्रो धारका नेताहरुसँग नेपालले बिहान फोनवार्ता गर्नु भएको छ । उहाँले अब समय पनि नभएको र ओली सुध्रनेवाला पनि नभएको भन्दै एकीकृत समाजवादी पार्टीमा समाहित हुन निम्तो दिनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *