नेपालसहित १४ जना सांसदमाथि कारबाहीको सूचना टाँस्न एमालेको माग
४ भदौ २०७८ काठमाडौं । पार्टीले कारबाही गरेका १४ जना सांसदको कारबाहीको सूचना टाँस गर्न दबाब दिँदै एमालेका सांसदहरु आज पनि सभामुख अग्नीप्रसाद सापकोटालाई भेट्न पुगेका छन्।
उनीहरुले सभामुख सापकोटालाई सूचना टाँसबारे ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराएको एमाले सांसद गोकुल बाँस्कोटाले जानकारी दिनुभयो।
कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरु सभामुख सापकोटाको कार्यकक्षमा पुगेका थिए। सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बाँस्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका थिए।
पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ। बुधबार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।
सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताउँदै आउनु भएको छ । एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ।
प्रतिक्रिया