Main News

सभ्य आचरण प्रदर्शन गर्न ट्राफिक प्रहरीलाई निर्देशन

हिमालय टिभी
२०७८ भदौ २ गते १४:३७
सभ्य आचरण प्रदर्शन गर्न ट्राफिक प्रहरीलाई निर्देशन

२ भदौ २०७८ काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुख, सातै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअल माध्याममार्फत निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणमा गम्भीरतापूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो ।

प्रविधिको प्रयोगमा जोड दिन आग्रह गर्दै प्रहरी महानिरीक्षक थापाले पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न पनि निर्देशन दिनुभयो । उहाँले सडक सुरक्षा, सडकमा हुने दुर्घटना न्यूनीकरणमा मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्षेत्रमा खटिने सिलसिलामा व्यक्तिगत सुरक्षाप्रति सचेत हुँदै कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीलाई सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक पारदर्शीता तथा शून्य सहनशीलता नीतिअनुरुप कार्य सम्पादन गर्न पनि सुझाव दिनुभएको छ ।

प्रहरी महानिरीक्षक थापाले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोगमा चुक्न नहुनेमा जोड दिँदै कोभिड–१९ को जोखिममा पूर्ण सावधानी अपनाउन भन्नुभएको छ । उहाँले स्थानीयस्तरसँग समन्वय गरी ट्राफिक व्यवस्थापनलाई चुस्त पार्नु आजको आवश्यकता भएको औँल्याउनुभयो । प्रहरीको भौतिक संरचना, सिसिटिभी जडान जस्ता कार्यक्रममा स्थानीय तह, जनप्रतिनिधि तथा सङ्घ संस्थासँग समन्वय गरी दुर्घटना न्यूनीकरण प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो । उहाँले प्राप्त जिम्मेवारीलाई परिणाममुखी बनाउन पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *