अफगानिस्तानबाट १ सय १८ जना नेपाली स्वदेश फर्किए (भिडियो रिपोर्टसहित)

१ भदौ २०७८ काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका १ सय १८ जना नेपाली आज काठमाडौं आइपुगेका छन् ।
अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा पुर्याएका उनीहरु कुवेत हुँदै घर फर्किएका हुन् । त्यस्तै ९ जना भारतीय नागरिक पनि काठमाडौं आइपुगेका छन् ।
अमेरिकी सेनाले उद्धार गरेर अफगानिस्तानबाट लगेका नेपाली र केही भारतीयलाई फर्काइदिएको हो । उनीहरु जजिरा एयरलाइन्सको चार्टर्ड विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।
उनीहरुलाई नेपाली सेनाले बनाएको क्वारेन्टिनमा राखिएको छ। अब त्यहाँ एन्टिजेन परीक्षण गरेर मात्रै क्वारन्टिनमा राख्ने वा घर पठाउने निर्णय हुनेछ। फर्किएकालाई घरसम्म पठाउने व्यवस्था पनि सरकारले नै गर्ने छ। त्यस्तै भारतीय नागरिकलाई भने नेपाल हुँदै दिल्ली पठाइनेछ।
सुरक्षित रुपमा घर फर्कन पाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले अफगानिस्तानका अनौपचारिक क्षेत्रमा पनि केही नेपाली कार्यरत रहेको र उनीहरु उद्धारको पर्खाइमा रहेका बताएका छन् ।
संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत लगायतका देशका दूतावासमा कार्यरत नेपालीलाई सम्बन्धित संस्थाले नै सुरक्षित राखेका छन् । र उनीहरुलाई तिनीहरुले नै नेपाल फर्काइदिने छन् । तर आफूखुसी अफगानिस्तान पुगेका र सामान्य काम गरिरहेका पनि केही नेपाली रहेको र उनीहरु समस्यामा परेको हुन सक्ने अनुमान छ ।
यसैबीच अफगानिस्तानबाट उद्धारका लागि अहिलेसम्म १ सय ३४ जना नेपालीले विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेबसाइटमा हिजो बेलुकासम्म १ सय ३४ जना नेपालीको विवरण दर्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विवरण टिपाएकालाई एकदुई दिनमै स्वदेश फर्काउने तयारी भएको पनि मन्त्रालयले जनाएको भनाइ छ । विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण संकलन भइरहेको छ ।
साथै उपलब्ध नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया