Main News

अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३२ गते १४:०२
अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।

आज विहान बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसका लागि सरकारले सम्बन्धित निकायलाई समन्वय गरेर काम अघि बढाउन निर्देशन दिएको हो ।

तालिवानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अस्तव्यस्तता सिर्जना भएको छ । राष्ट्रपति अशरफ घानी मुलुक छोडेर भागेका छन् । तालिवानलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न समन्वय परिषद गठन भएको छ ।

काबुलबाट विभिन्न देशले आफ्ना नागरिकको हवाइ उडानमार्फत उद्धार गरिरहेका छन् । अफगानिस्तानमा नेपाली कति छन भन्ने यकिन तथ्याङ्क छैन ।

सरकारले औपचारिक क्षेत्रमा काम गर्ने १५ सय नेपाली भएको बताएको छ भने कतिपय व्यक्ति र सरोकारवाला संस्थाले १४ हजार नेपाली रहेको बताउँदै आएका छन ।

यस्तै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनशनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताउनुभयो । “यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ”, बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे उहाँले भन्नुभयो ।

सरकारले सोसम्बन्धी कूटनीतिक प्रक्रियासमेत अगाडि बढाइसकेका सन्दर्भमा आमरण अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *