अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह

३२ साउन २०७८ काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले वेभसाइटमार्फत वा मोबाइलबाट सम्पर्कमा आउन अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन दर्ता शुरु गरेको जनाएको छ ।
दर्ताका लागि अफगानिस्तानमा रहेका नेपाली वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेभसाइटमा विवरण दर्ता गराउन सक्नेछन् ।
उद्धारका लागि +९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न पनि मन्त्रालयले भनेको छ ।
काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले सम्बन्धित मुलुक र निकायमा पत्राचार पनि गरेको छ ।
यसैबीच अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।
अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी राख्न र उद्धारका लागि पहल गर्न विभागले म्यानपावर कम्पानीहरुलाई यस्तो निर्देशन दिएको हो । विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईका अनुसार उनीहरुलाई आज विवरणसहित उपस्थित हुन भनिएको छ ।
अफगानिस्तानको कुन ठाउँमा नेपालीहरु कुन अवस्थामा छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्धार गर्न सहज हुने विभागको भनाइ छ ।
प्रतिक्रिया