Main News

आफूलाई एमालेको ह्वीप नलाग्ने लुम्बिनी प्रदेशका मन्त्री शाहीको स्प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३१ गते १७:१९
आफूलाई एमालेको ह्वीप नलाग्ने लुम्बिनी प्रदेशका मन्त्री शाहीको स्प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य एवम नवनियुक्त मन्त्री अजय शाहीले एमालेलाई स्पष्टिकरणको जवाफ दिँदै आफूलाई एमालेको ह्वीप नलाग्ने बताउनुभएको छ ।

तत्कालीन एमाले र आफू आवद्ध स्वतन्त्र राजनीतिक समूहबीच सम्झौता भएर सूर्य चिन्हमा चुनाव लडेको र एमालेको सदस्यता नलिएकाले ह्वीप नलाग्ने शाहीले स्पष्टिकरण पत्रमा उल्लेख गर्नुभएको छ ।

स्वतन्त्र रुपमा निर्वाचित प्रदेश संसद्लाई कुनै पार्टी विशेषको ह्वीप नलाग्ने राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ ।

हृदयेश त्रिपाठी समूहबाट निर्वाचित शाहीले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री कुलप्रसाद केसीलाई साथ दिँदै मन्त्री बन्नुभएको छ । शाहीलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले साउन २८ गते स्पष्टीकरण सोध्नुभएको थियो ।

एमालेको चुनाव चिह्न सूर्यबाट निर्वाचित भएको र एमाले संसदीय दलको सदस्यको रुपमा बैठकमा भाग लिने गरेको भन्दै ढकालले कारवाहीको चेतावनी दिनुभएको थियो ।

एमाले र ह्रदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच २०७४ असोज १६ गते दुई बुँदे सहमति भएको थियो। जसमा एमालेको तर्फबाट ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहको तर्फबाट हृदयश त्रिपाठी, विके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदिश शुक्लाले हस्ताक्षर गर्नुभएको थियो ।

सहमतिको पहिलो बुँदामा स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता प्रतिनिधि सभा, प्रदेश सभा तथा राष्ट्रिय सभाको चुनावमा सूर्य चिह्न लिएर सहभागी हुने र स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील रहने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *