विदेश

विद्रोही लडाकु समूह तालिवान अफगानिस्तानको राजधानी काबुल प्रवेश, सरकारी कर्मचारीको भागाभाग

हिमालय टिभी
२०७८ साउन ३१ गते १५:२१
विद्रोही लडाकु समूह तालिवान अफगानिस्तानको राजधानी काबुल प्रवेश, सरकारी कर्मचारीको भागाभाग

३१ साउन २०७८ काबुल । अफगानिस्तानमा विद्रोही समूह तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् ।

अफगानिस्तानका आन्तरिक मामिला मन्त्री अब्दुल सतार मिर्जाकावाले तालिवान विद्रोही राजधानी काबुल प्रवेश गरेको पुष्टि गरेका बिबिसीले जनाएको छ । चारैतिरबाट तालिवान लडाकू काबुल प्रवेश गरिरहेका छन ।

बिहान पूर्वी सहर जलालावाद कब्जा गरेका विद्रोही सामान्य प्रतिरोधको सामना गर्दै काबुल पुगेका हुन् । तालिवानले सत्ता हस्तान्तरणका लागि छलफल भैरहेको भन्दै कसैमाथि बल प्रयोग नगर्ने र काबुल छोड्न चाहनेलाई जान दिने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

काबुल पस्ने क्रममा तालिवान लडाकूले भीडन्त गर्न नचाहेको प्रष्ट पारेका छन् । तालिवान काबुल पसेको खबरसँगै सरकारी कर्मचारीले कार्यालय छोडेर भागेका छन भने भीडन्तको त्रासमा सर्वसाधारण नागरिक पनि खुला ठाउँमा निस्केका छन् ।

अमेरिकाले हेलिकोप्टरमार्फत आफ्ना नागरिकको उद्धार गरिरहेको छ । आन्तरिक मामिला मन्त्रीले तालिवान काबुल पसेको पुष्टि गरेपनि राष्ट्रपति अशरफ घानीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन र उनी के गर्दैछन् भन्ने पनि प्रष्ट भएको छैन ।

काबुल प्रवेशका लागि रणनीतिक शहर मानिने जलालाबाद शहर सरकारी सुरक्षा फौजले आज बिहान बिना कुनै प्रतिकार तालिवानलाई सुम्पेपछि उनीहरुलाई काबुल पस्न सहज भएको हो ।

जलालाबाद अफगानिस्तानका र विशेष गरि काबुलका लागि रणनीतिक रुपमा एक महत्वपूर्ण शहर हो ।

यसअघि उनीहरुले तालिवान विरोधी शहरका रुपमा चिनिने उत्तरी क्षेत्रको अन्तिम ठूलो शहर मजार(ए(शरीफमाथि नियन्त्रण कायम गरेका थिए । मजार–ए–शरीफ अफगानिस्तानको चौथो ठूलो शहर हो ।

उज्वेकिस्तान र ताजिकिस्तानको सीमा नजिकको यो शहर एक प्रमुख आर्थिक केन्द्र पनि हो । तालिबानले यसअघि सन् १९ सय ९० को दशकमा त्यहाँ नियन्त्रण कायम गरेका थिए ।

काबुललाई चारैतिरबाट घेरिरहेका उनीहरुले काबुल बाहेक सबै मुख्य शहरमा नियन्त्रण कायम गरिसकेका छन् । अमेरिका नेतृत्वको नेटो सैनिकले सन् २ हजार १ देखिको सैन्य अभियान समाप्त गरेपछि तालिवान आक्रामक भैरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *