लुम्बिनी प्रदेश सरकारका थप दुई जना मन्त्रीले राजीनामा दिँदै

२७ साउन २०७८ बुटवल । जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् ।
भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् ।
मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उहाँका पति नवराज लम्सालले राजीनामाबारे छलफल भइरहेको र आजै राजीनामा दिने तयारी भएको बताउनुभएको छ ।
यसअघि हिजो राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिनुभएको छ । जसपाबाट मन्त्री बनेका तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले भने एक महिनाअघि नै राजीनामा दिएर पार्टीमा फर्किसक्नुभएको छ ।
प्रतिक्रिया