Main News

एमाले स्थायी कमिटी बैठकमा ओलीको बोलीमा गौतमले जनाए यस्तो आपत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २५ गते १९:१३
एमाले स्थायी कमिटी बैठकमा ओलीको बोलीमा गौतमले जनाए यस्तो आपत्ति (भिडियो रिपोर्टसहित)

२५ साउन २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले मनपरी बोलिरहेको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।

स्थायी कमिटी बैठकमा बोल्दै गौतमले कम्युनिष्ट पार्टीमा अध्यक्षलाई पनि मनपरी बोल्ने छुट नहुने टिप्पणी गर्नुभयो । राजनीतिक मतभिन्नताकै कारण अध्यक्ष ओलीले पार्टी नेताहरुमाथि मनपरी आरोप लगाएको भन्दै आपत्ति जनाउनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई राजनीतिक मतभिन्नताकै कारण ओलीले अपराधी गद्दार र देशद्रोही भनेकोमा आपत्ति जनाउँदै गौतमले यस्तो भन्न पाइन्छ भनेर प्रश्न गर्नुभयो । गौतमले पाइने भए विधानमा व्यवस्था गर्नुपर्‍यो भन्दै व्यंग्य गरेको एक नेताले जानकारी दिए ।

बैठक शुरु हुनु अघिनै उपाध्यक्ष गौतम र ओली निकट नेताहरुबीच घोचपेच शुरु थियो । अनौपचारिक छलफलकै क्रममा स्थायी कमिटीका पदेन सदस्य केशव बडालले राष्ट्रियसभामा गौतमले बोलेको प्रसंग निकालेपछि केहीबेर अवस्था असहज बनेको र बैठक शुरु भएपछि गौतमले फरक मत राख्नभएको थियो ।

विशेषगरी पार्टी एकता बिथोलिने गरी अध्यक्ष ओलीले बोलेको विषय गौतमले उठाउनुभएको थियो । राजनीतिक मतभिन्नताकै कारण गम्भीर आरोप लगाइनुलाई ठीक मान्ने हो भने पार्टी विधान संशोधन गरिनुपर्ने गौतमको तर्क छ ।

पार्टी अनुशासन उल्लंघन गर्नेहरुमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही भन्न सकिनेछ भन्ने उल्लेख गरौं, र त्यो अधिकार अध्यक्षलाई दिउँ भनेर गौतमले व्यंग्य गरेको ती नेताले बताए ।

प्रधानमन्त्रीबाट पदच्यूत भएपछि बालुवाटार छाडेर बालकोट पुगेका ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार, देशद्रोही जस्ता लागउँदै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *