बोलबम तीर्थयात्री सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
२४ साउन २०७८ रौतहट । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
चन्द्रपुर नगरपालिका–१ नुनथरमा आज बिहानै बोलेरो पिकअप गाडी बागमती सिंचाइको नहरमा दुर्घटना भएको हो ।
बाराको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना५च ३१६६ नम्बरको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बारा गढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँच जना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ ।
बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर( १ नुनथर जाने बाटो को नहरमा दुर्घटना भएको हो । नहरमा खसेका १३ जनाको प्रहरीले उद्धार गरेको छ । गाडीमा करिब २० जना सवार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रतिक्रिया