Political Hightlights

अध्यक्ष मिश्रको प्रस्तावविरुद्ध आफ्नै पार्टीका चार नेताले गरे यस्तो प्रतिवाद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १९ गते १८:३५
अध्यक्ष मिश्रको प्रस्तावविरुद्ध आफ्नै पार्टीका चार नेताले गरे यस्तो प्रतिवाद (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ काठमाडौं । विवेकशील साझा पार्टीमा अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई काउन्टर दिँदै चारजना नेताले अर्को प्रस्ताव ल्याएका छन् ।

प्रस्तावमा जनआन्दोलनको उपलब्धीलाई उल्ट्याउने आफूहरुको कार्यभार नभएको भनिएको छ । ‘लोकतन्त्रमाथि प्रश्न गर्दै हिँड्नु र शाहीतन्त्रका पाउमा वैकल्पिक राजनीतिलाई समर्पित गर्नु हाम्रो कार्यभार नभएको भन्दै चार नेताले अध्यक्ष मिश्रको प्रतिवाद गरेका छन् ।

पार्टीका संयोजक मिलन पाण्डे, सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले संयुक्त रुपमा ल्याएको प्रस्तावमा गणतन्त्रभन्दा राजतन्त्रलाई राम्रो भनेर असंगत तर्कलाई मलजल गर्नु पनि हाम्रो कार्यभार नभएको उल्लेख छ ।

अध्यक्ष मिश्रले साउन ११ गते छलफलका लागि भन्दै सार्वजनिक गरेको ४४ पृष्ठ लामो प्रस्तावमा राष्ट्रिय एकताको प्रतिकका रुपमा राजाको स्वीकार्यता उच्च रहेको जिकिर गर्नुभएको थियो ।

पार्टीमा छलफलविनै मिश्रले ल्याएको दस्तावेजमा संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह हुनुपर्ने माग राखिएको थियो । धर्मका आधारमा राजनीति गर्न नहुने भन्दै चार नेताको प्रस्तावमा बहुरंगी तर्क गरेर समयको गतिलाई रोक्न र पछाडि फर्काउनु उल्टो यात्रा हुने उल्लेख गरिएको छ । त्यसलाई त्यो पश्चगमन भन्दै चार नेताले उल्टो हिँडेर अघि नबढिने पनि बताएका छन् ।

‘जानी नजानी पार्टीलाई पश्चगमनको मतियार बनाउने र यसलाई उल्टो बाटोमा हिँडाएर बदनाम गराउने प्रयत्न भइरहेको आरोप लगाउँदै प्रस्तावमा जनताको आस्थाको विषय जनमत संग्रहका लागि योग्य नहुने पनि उल्लेख गरिएको छ ।

पार्टी अध्यक्ष मिश्रले राखेको प्रस्तावले पार्टी स्थापनाको औचित्य र कार्यभारलाई कमजोर बनाउने र पार्टीलाई अग्रगामी चरित्रबाट बाहिर निकाल्ने खतरा बढेको चार नेताले निष्कर्ष निकालेका छन् । साथै, मिश्रको प्रस्तावलाई सच्याउन र त्यस विषयमा वस्तुनिष्ठ र गम्भिर छलफल गर्न पनि माग गरिएको छ ।

संघीयता लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम प्रयोग भएको भन्दै प्रस्तावमा यसले जनतालाई अझ धेरै सार्वभौम बनाउने उल्लेख छ । अहिले व्यवस्थाको नभइ कार्यान्वयनको संकट रहेको भन्दै चार नेताले संघीयतालाई कसरी राम्रो र प्रभावकारी बनाउने भन्नेमा बहस गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्