Main News

संसदमा गृहमन्त्री खाँण र सांसदहरुबीच चल्यो यस्तो सवाल–जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १९ गते १५:३६
संसदमा गृहमन्त्री खाँण र सांसदहरुबीच चल्यो यस्तो सवाल–जवाफ (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानबिन समिति गठन गरेको बताउनु भएको छ ।

गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानबिन समितिले दिएको प्रतिवदेनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो । आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “छानबिन समितिले घटनास्थलमै गएर छानबिन गर्नेछ । प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानबिन गर्नेछ । स्थानीय नागरिकसँग पनि बुझेर छानबिन समितिले सत्यतथ्यसहितको प्रतिवेदन ल्याउने छ । र प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ । र जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुनेछ ।”

सरकारले सो घटना घटेलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । गृहमन्त्री खाँणले सो छानबिन समितिले सत्यतथ्यसहितको प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही पनि बोल्न नमिल्ने स्पष्ट पार्नु भयो ।

गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन सरकारले छानबिन समितिलाई स्थानीय सरकार, प्रदेश सरकार र त्यहाँका जनप्रतिनिधिहरुसँग पनि छलफल गर्न निर्देशन दिएको जानकारी पनि सांसदहरुलाई गराउनुभयो ।

सो घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे प्रमुख प्रतिपक्षी दल एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गर्नु भएको थियो । उहाँले अपराधिक ढंगले धामी नदीमा बपत्ता भएको घटनालाई सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाउनु भयो ।

एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाँणले नदीमा बेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गर्नु भएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

कांग्रेस सांसद गगनकुमार थापाले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउनु भयो । उहाँले घटनामा संलग्न जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारले हिम्मतका साथ काम गर्नुपर्ने पनि बताउनु भयो ।

यता, जवाफमा गृहमन्त्री खाँणले छानबिन समितिको प्रतिवेदन नआई सरकारले थप बोल्न नमिल्ने बताउनु भयो । उहाँले छानबिन समिति घटनास्थल पुग्ने र त्यसको सत्यतथ्य बाहिर आउने विश्वास समेत व्यक्त गर्नु भयो । सरकारले सो घटनाको छानबिन गर्न गठित सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *