स्रोत नखुलेको ३३ लाख रुपैयाँसहित दुई जना पक्राउ
१९ साउन २०७८ नवलपरासी । पश्चिम नवलपरासीमा स्रोत नखुलेको ३३ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।
बर्दघाट नगरपालिका–१२ भटौलियास्थित हुलाकी सडकखण्डमा १८ लाख ५० हजार र ९ लाख भारतीय गरी ३३ लाख रुपैयाँसहित दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ३५ वर्षका योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगञ्ज ठुठीबारी बस्ने २७ वर्षका समिर खान रहेको डीएसपी लामाले बताउनुभयो ।
उनीहरु ठुठीबारीस्थित एक कपडा पसलमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेको लु १६ प ३७२९ नम्बरको मोटरसाईकलमा आशंका लागि चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
मोटरासाइकलमा रहेका दुबैजनालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । बरामद रकमसहित उनीहरुलाई थप अनुसन्धानका लागि आज राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया