छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

हिमालय टिभी
२०७८ साउन १८ गते २०:३४
छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा मण्डल पक्राउ

१८ साउन २०७८ राजविराज । मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेका चाँदीको मुकुट (मस्तक) चोरी गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी मुकुट चोरी गरेको आरोपमा पक्राउ परेका सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौउका लक्ष्मण मण्डलका २३ वर्षीय छोरा राजेशकुमार मण्डललाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार गाउँमा एक जनाले भगवतीको मुकुट लिएर हिँडिरहेको भनी प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी टोली पारिचाल गरी छिन्नमस्ता भगवतीको मुकुटसहित मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ परेका मण्डलका साथबाट चाँदीको जस्तो देखिने धातुमा देवीको अनुहार अङ्कित मुकुट र मुकुटमा अङ्कित देवीको नाकमा सुनको जस्तो देखिने धातुको नथिया र निधारमा सुनकै जस्तो देखिने टीकासमेत करिब ५०८ ग्राम तौल रहेको जनाइएको छ । मुकुट चोरी गर्ने मण्डललाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो ।

सप्तरी सदरमुकाम राजविराजदेखि करिब १३ किलोमिटर दक्षिण भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा अवस्थित छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको थियो ।

मुकुट चोरी भएको घटनालगत्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक धमला र सशस्त्र प्रहरीका प्रमुखलगायतका टोली परिचालन गरी मुकुट खोज्नका लागि भारतीय सीमा नाकासमेत सिल गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *