Main News

महाकाली नदीमा एसएसबीले तुइन काटेकोबारे सरकार मौन, सांसदहरुले जनाए आपत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १८ गते १५:०८
महाकाली नदीमा एसएसबीले तुइन काटेकोबारे सरकार मौन, सांसदहरुले जनाए आपत्ति (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे सरकार मौन बसेको छ ।

राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।

यसबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको भन्दै मन्त्री खाँणले टोली धनगढीतर्फ गइसकेको जानकारी दिनुभयो । यसअघि नै जिल्लाबाट गएको टोलीले जयसिंहभन्दा अगाडि तुइन गरेर पारी पुग्नेहरुसँग सोधपुछ गरेको र वारी रहेकाहरुलाई सदरमुकाम बोलाइएको पनि उहाँले बताउनुभयो ।

तर प्रत्यक्षदर्शीहरुले भनेजस्तो भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटेको वा फुकाएको विषयमा गृहमन्त्री खाँण मौन बस्नुभयो । सांसदहरुले एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भनेर प्रश्न गरेका छन् ।

जवाफमा गृहमन्त्री खाँणले भने आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो । तर आफैंले छानबिनका लागि समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी राय दिन नमिल्ने मन्त्री खाँणको तर्क छ ।

छानबिन समितिको सदस्यसमेत रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले काठमाडौंको टोली आइपुगेपछि प्रत्यक्षदर्शीसँग पनि छलफल गरिने जानकारी दिनुभयो ।

भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *