Main News

दार्चुला घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

हिमालय टिभी
२०७८ साउन १७ गते २०:२६
दार्चुला घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

१७ साउन २०७८ काठमाडौं । सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहनुभएको छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपानेसहित तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागितामा भएको बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे छलफल भएको छ ।

बैठकमा खोप व्यवस्थापन तथा नयाँ भेरियन्टसहितको तेस्रो लहरको सम्भावनालाई दृष्टिगत गरी सङ्क्रमण रोकथाम नियन्त्रण र उपचारका लागि तयारी अवस्थामा रहन तथा स्वास्थ्य संस्थाको सुदृढीकरण गर्न र स्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड दिइएको छ । बैठकले सबै सेवाप्रदायक निकायहरूमा सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेरमात्र कार्यालयमा प्रवेश गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *