राजनीति

माधव नेपालमाथि अध्यक्ष ओलीको यस्तो आक्रोश, नेपालले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते २०:४१
माधव नेपालमाथि अध्यक्ष ओलीको यस्तो आक्रोश, नेपालले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ काठमाडौं । नेकपा एमालेमा एकातिर एकताका लागि वार्ता चलिरहेको छ भने अर्कातिर शीर्ष नेताबीच आरोपप्रत्यारोप झन तिब्र भएको छ ।

दोस्रो तहका नेता निरन्तर छलफलमा रहँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक अर्कालाई खुइल्याउने होड नै चलेको छ ।

अध्यक्ष ओलीले नेपाललाई पार्टीमा ठाउँ नरहेको दोहोर्‍याउनु भएको छ । नेपालले पनि अहंकार नदेखाउन चेतावनी दिनुभएको छ । दुबै थरीको आक्रोश हेर्दा एमालेको एकता अझै टाढा रहेको संकेत देखिन्छ ।

एमालेमा एकताका लागि बनाइएको कार्यदलमा १० बुँदे सहमति भयो । त्यही सहमति कार्यान्वयनबारे अहिले रस्सकस्सी चलिरहेको छ । नेपाल खनाल समूहले असुरक्षा महसुस गरेपछि पार्टीमा दोस्रो अध्यक्ष बनाउने चर्चा पनि चलिरहेको छ ।

अध्यक्ष ओलीले पनि आफु त्यसका लागि तयार भइसकेको बताइसक्नुभएको छ । तर शनिबार अध्यक्ष ओलीको भाषण हेर्दा एमालेमा एकता भन्दा पनि विभाजनकै संभावना बढी देखिन्छ । अध्यक्ष ओलीले नेपाललाई देशद्रोही भन्दै पार्टीमा कुनै ठाउँ नरहेको घोषणा गर्नुभयो ।

आफु नेतृत्वको सरकार ढालेर र नयाँ सरकार बनाउन समर्थन गरेकोमा नेपालमाथि अध्यक्ष ओलीको ठुलो आक्रोश छ । त्यो आक्रोश मत्थर हुने होइन झन बढ्दै गएको छ । नेपाल खनाल समूहलाई उहाँले प्रतिक्रियावादीको सेवामा लागिरहेको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष ओली यतिमै रोकिनु भएन । उहाँले नेपाल खनाल समूह पार्टीभित्रै रहे पेलेरै अघि बढ्ने संकेत पनि दिनुभयो । पार्टी विरोधि गतिविधिमा सामेल हुनेलाई आगामी निर्वाचनमा टिकट नदिने पनि उहाँले घोषणा गर्नुभयो ।

शनिबार नै आफ्नो समूह निकट विद्यार्थीको कार्यक्रममा सहभागी भएका वरिष्ठ नेता नेपालले पनि अध्यक्ष ओलीमाथि निसाना साँध्नुभयो । घमण्ड र अहंकारले नै ओली अहिलेको अवस्थामा पुगेको नेपालको दाबी छ ।

नेता नेपालले ओलीप्रति संकेत गर्दै फेरि प्रधानमन्त्री बन्नका लागि जालझेर नगर्न चेतावनी पनि दिनुभयो ।

पार्टी एकताका सवालमा नेपाल खनाल समूहभित्रै अहिले दुइथरी मत देखिन्छ । एकथरी एकताका लागि प्रयासमा छन् भने अर्काथरीले अध्यक्ष ओलीले राजिनामा दिनुपर्ने बताइरहेका छन् ।

एमालेका दुबै समूहका नेताका अभिव्यक्ति हेर्दा तत्काल एकताको संभावना कम देखिन्छ । त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीको आक्रोश त यति धेरै छ कि उहाँ नेता नेपाललाई कुनै हालतमा पार्टीमा ठाउँ दिने पक्षमा हुनुहुन्न । यस्तो अवस्थामा पार्टी एकता गर्ने दोस्रो तहका नेताको प्रयास कसरी सफल होला प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्