राजनीति

जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु कि भन्ने नसोच्न ओलीलाई नेता नेपालको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते १७:०८
जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु कि भन्ने नसोच्न ओलीलाई नेता नेपालको चेतावनी (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ काठमाडौंं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ ।

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराउनु भएको हो । “यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस् । अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ ।”

अखिल फोर्स’ले आज काठमाडौंमा गरेको भेलामा बोल्दै उहाँले भन्नुभयो, “संविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं ।”

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गर्नु भयो । उहाँले सही विचार आत्मसात गरेर अघि बढन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

वरिष्ठ नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गर्नु भयो । उहाँले सो घटनामा संलग्नलाई कारवाही गर्न भारत सरकारको पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

वरिष्ठ नेता नेपालले भन्नुभयो, “महाकाली नदीमा घटेको घटना हामीले सुन्यौं । त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानबिन गरियोस् । ती व्यक्तिहरु, उनीहरुको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकैै कारणले पनि एउटा नेपाली युवा पानीमा बेपत्ता भएको सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।”

वरिष्ठ नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दावी गर्दै सोही अनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेतृत्व अराजक ढंगले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह पनि गर्नु भयो ।

कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताउनुभयो । अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ ।

अखिल फोर्सले माइतीघरमा कार्यक्रम गर्नुअघि भृकुटीमण्डपबाट मोटरसाइल जुलुस निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्