राजनीति

विवाद मिलाउन ओलीले दिएको समय घर्किँदै एमालेमा होला त सहमति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १५ गते २०:४१
विवाद मिलाउन ओलीले दिएको समय घर्किँदै एमालेमा होला त सहमति ? (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ काठमाडौं । नेकपा एमालेभित्रको विवादको टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले दिएको समय भोलि सकिँदैछ । तर अहिलेसम्म सहमति हुने कुनै संकेत देखिएको छैन ।

संस्थापनले नेपाल खनाल समूहसँग एकता गर्ने नाममा धेरै समय प्रतिक्षा गर्न नसकिने निष्कर्ष निकालेको छ । सहमतिको नाममा नेपाल पक्षबाट विभिन्न प्रस्ताव सार्वजनिक भैरहेकोमा पनि संस्थापनको असन्तुष्टि देखिएको छ ।

कुनै नाटकीय परिवर्तन नआए नेकपा एमालेको विवाद तत्काल समाधान हुने संभावना देखिएको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नाममा धेरै समय कुर्न नसकिने भन्दै विवादलाई वारपारको अवस्थामा पुर्‍याउन महासचिव ईश्वर पोखरेल लगायतका आफू पक्षीय नेताहरुलाई निर्देशन दिनु भएको थियो ।

सोही निर्देशन् अनुसार नै पार्टीका दोस्रो तहका नेता बीच विवाद समाधानका लागि पटक पटक छलफल र बैठक भएका छन् । तर कुनै निश्कर्ष निस्केको छैन । संस्थापन समूह अब नेपाल समूहलाई धेरै नकुर्ने पक्षमा देखिन्छ । १० बुँदे सहमति भएको लामो समय भैसक्दा पनि नेपाल पक्ष सहमति कार्यान्वयमा उदासिन देखिएको पार्टी महासचिव ईश्वर पोखेरलको आरोप छ । बरु नयाँ नयाँ सर्त अघि सारेकाले पार्टी एकता थप जटिल बनेको उहाँको बुझाइ छ ।

नेपाल समूहबाट नयाँ नयाँ सर्त अघि सारेकोमा असन्तुष्टि जनाएका महासचिव पोखरेलले पार्टीको विधि र विधानबाहिर गएर कुनै पनि सर्त मान्य नहुनेसमेत बताउनुभएको छ । अब कुनै सहमति नभएमा शनिबार बस्ने स्थायी कमिटीको बैंठकबाट एउटा निर्णयमा पुग्ने महासचिव पोखरेलको भनाइ छ ।

अध्यक्ष केपी शर्मा ओलीकै कार्यशैलीले नेकपा सत्ताबाट सडकमा पुगेको छ । तर संस्थापनले नेपाल समूहकै कारण पार्टी सरकारबाट बाहिरिनुपरेको प्रचार गरिरहेको छ ।

जसले गर्दा ओली पक्षका सामान्य कार्यकर्ता पनि नेपाल समूहसँग आक्रोशित देखिन्छन् । पार्टीका सचिव शेरबहादुर तामाङ नेपाल पक्षकै कारण पार्टी सिंहदबार र बालुवाटारबाट बाहिरिनु परेको भन्दै सहमतिको नाममा अब धेरै अलमल गर्न नहुने बताउनुहुन्छ ।

अर्का नेता कर्ण थापा नेपाल खनाल समूहले पार्टीलाई धेरै क्षति गरेको आरोप लगाउँदै अब यसैगरी अघि बढ्न नसकिने बताउनुहुन्छ ।

अध्यक्ष ओलीको मनसाय, ओली पक्षका नेताका प्रतिक्रियाबाट के अनुमान गर्न सकिन्छ भने कुनै नाटकीय परिवर्तन भएन भने तत्काल एमालेमा एकता हुने संभावना कम छ । नेपाल पक्ष सहजै एकतामा नआउने ठाँनेरै अध्यक्ष ओलीले विवाद समाधानका लागि लामो समय कुर्न नसकिने बताइसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्