Main News

काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

हिमालय टिभी
२०७८ साउन १५ गते १८:५४
काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

१५ साउन २०७८ काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुट्नुभएको छ ।

काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबारको बैठकले क्रियाशील सदस्यता विवरणसहित प्रतिवेदनमा बाँकी रहेका विवाद पाँच दिनभित्र समाधान गर्ने गरी नेतृत्व तहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।

काङ्ग्रेस क्रियाशील सदस्यता छानविन समितिले बिहीबार बैठकमा परिमार्जनसहितको प्रतिवेदन बुझाए पनि क्रियाशील सदस्यतामा केही विवाद थाती नै छन् । विवाद समाधानका लागि आज बिहानदेखि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता छलफलमा जुट्नुभएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

नेतृत्व तहले बाँकी विवाद समाधान गरी पार्टीको केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ । काङ्ग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पुरै बाँकी रहेको र पार्टीको समायोजन तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई दिनुपर्ने सदस्यताका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीलगायत जिल्लाका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।

काङ्ग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । यद्यपी क्रियाशील सदस्यताको काम बाँकी रहेका कारण यही साउन १२ गतेको गाउँ/नगर वडाअधिवेशन प्रभावित भइसकेको छ ।

काङ्ग्रेसले यसअघि गाउँ/नगरवडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकेको थियो । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *