कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु, ३६११ संक्रमित थपिए
१५ साउन २०७८ काठमाडौं । पछिल्लो पटक देशभर ३६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।
९ हजार ७ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ६७ तथा ४ हजार ८ सय ७८ एन्टीजेन परीक्षण गर्दा ११ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका आधारमा संक्रमणदर झण्डै २५ प्रतिशत पुगेको छ ।
काठमाडौं उपत्यका सहित बागमति, गण्डकी र प्रदेश एकमा अझै पनि संक्रमण उच्च देखिएको छ । उपत्यकामा ८ सय १९ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ५ सय ५६, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ७६ जना छन् ।
उपत्यकावाहिर कास्कीमा ३ सय ३३, झापामा २ सय ३६, सुनसरीमा १ सय ७६ तथा मकवानपुरमा १ सय ४ जना नयाँ संक्रमित पहिचान भएका छन् । सुर्खेत, रुपन्देही र चितवनमा पनि संक्रमण बढिरहेको छ ।
पछिल्लो पटक १८ सय १६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३१ हजार नाघेको छ । ति मध्ये ६ सय ८६ जनाक आइसीयू र १ सय ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म ९ हजार ८ सय ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया